बुटवल । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको १९औँ डिष्ट्रिक्ट एसेम्ब्ली तथा दोस्रो प्रेसिडेन्ट–सेक्रेटरी -पीएस) मिट शनिबार बुटवलमा आयोजना हुने भएको छ । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजनामा तथा रोटर्याक्ट क्लब अफ तिनाउ सिटी र रोटर्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको आतिथ्यमा हुने कार्यक्रममा देशभरका १८० रोटर्याक्ट क्लबका करिब ८ सय युवा सहभागी हुने अपेक्षा गरिएको छ ।
सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयाजना हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । रोटर्याक्ट क्लब अफ तिनाउ सिटीका अध्यक्ष बिमल ज्ञवालीले कार्यक्रमका सम्पूर्ण व्यवस्थापनका काम सम्पन्न भइसकेको जानकारी दिँदै नवनिर्वाचित अध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई नेतृत्व विकास र क्लब सञ्चालनसम्बन्धी विशेष तालिम प्रदान गरिने जानकारी दिनु भयो । कार्यक्रमको उद्घाटन रोटरी क्लब अफ बुटवल साउथका चार्टर्ड प्रेसिडेन्ट डा. आर.सी. आचार्यले गर्ने उहाँले जानकारी दिनु भयो ।
रोटर्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजकी अध्यक्ष अलिसा खनालले कार्यक्रमको तयारी पूरा भएको बताउँदै शनिबार बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने जानकारी दिनु भयो । कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट ट्रेजरर अनुप पाण्डेका अनुसार नेपालभर रहेका १८० रोटर्याक्ट क्लबमध्ये अधिकांशको सहभागिता रहनेछ ।
हालसम्म ६ सयभन्दा बढी प्रतिनिधिले अनलाइन दर्ता गरिसकेको र कार्यक्रमस्थलमै थप करिब २ सय जनाले दर्ता गर्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनु भयो । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ -डीआरआर) दिनेश गैरेका अनुसार उद्घाटन समारोहपछि डिष्ट्रिक्ट सेमिनार, विभिन्न विषयगत छलफल तथा डिष्ट्रिक्ट एसेम्ब्ली सञ्चालन हुनेछ ।
आगामी रोटरी वर्षका कार्यक्रम, क्लबहरूको कार्ययोजना तथा नेतृत्व विकासका विषयमा व्यापक छलफल गरिने उनले बताए।गैरेका अनुसार कार्यक्रममा नेपालभरका उत्कृष्ट रोटर्याक्ट क्लब र पदाधिकारीलाई विभिन्न १० विधामा सम्मान गरिनेछ। अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवलगायत उत्कृष्ट पदाधिकारीलाई कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिनेछ ।
यस वर्ष ३०० भन्दा बढी रोटर्याक्टर सम्मानित हुने उहाँले जानकारी दिनु भयो । रोटर्याक्टले वर्षभर पाँच वटा प्रमुख डिष्ट्रिक्टस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस पटक देशभरका क्लबहरूले सञ्चालन गरेका करिब ९ हजार सेवामूलक परियोजनाको समीक्षा र आगामी योजनामाथि समेत छलफल हुने आयोजकले जानकारी दिएको छ ।
्