बुटवल । बुटवलस्थित मणिमुकुन्द स्कुल तथा कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ । कलेजका अनुसार विज्ञान संकायतर्फका विद्यार्थी राहुल जैसवालले ३.९६ जीपीए प्राप्त गर्दै नेपालमै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् ।
यस्तै, सोही संकायका प्रिन्स केसीले ३.९२ जीपीए प्राप्त गरेका छन् । शनिबार आयोजित कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको थियो । कलेजका अनुसार यस वर्ष विज्ञान तथा व्यवस्थापन संकायबाट ३७ जना विद्यार्थीले ३.६० भन्दा बढी जीपीए प्राप्त गरेका छन् ।
नेपाल टपर बनेका राहुल जैसवाल र प्रिन्स केसीले मणिमुकुन्दको अनुशासित शैक्षिक वातावरण, गुणस्तरीय शिक्षण पद्धति र शिक्षकहरूको निरन्तर मार्गदर्शन नै आफ्नो सफलताको प्रमुख आधार भएको बताए ।
उच्च जीपीएसहित उत्तीर्ण विद्यार्थी कृपा घिमिरेले शिक्षकहरूको प्रभावकारी शिक्षण शैली, व्यक्तिगत मार्गदर्शन र परिवारजस्तै अपनत्वपूर्ण वातावरणले उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको बताइन् । कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष उमापति न्यौपानेले स्नातक तह अध्ययनका लागि नेपालमै पर्याप्त अवसर रहेको उल्लेख गर्दै कक्षा १२ सकिएलगत्तै विदेश जाने प्रवृत्ति विद्यार्थी र राष्ट्र दुवैका लागि दीर्घकालीन रूपमा हितकर नहुने धारणा राखे । उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीचको समन्वय तथा सामूहिक प्रयास अपरिहार्य हुने उनको भनाइ थियो ।
कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर मेहनत नै सफलताको मूल आधार भएको बताए । विद्यालय तहदेखि स्नातक तहसम्म उत्कृष्ट नतिजाको निरन्तरता कायम राख्दै मणिमुकुन्दले शैक्षिक उत्कृष्टताको छुट्टै पहिचान स्थापित गरेको उनको दाबी थियो । सह–प्राचार्य दिवाकर खनालले स्नातक अध्ययनका लागि विदेशभन्दा स्वदेशका गुणस्तरीय कलेज रोज्न विद्यार्थीलाई आग्रह गरे ।
बीबीएस संयोजक दिनेश पाण्डेले विषय छनोट गर्दा विद्यार्थीले आफ्नो रुचि, भविष्यको रोजगारी, शैक्षिक गुणस्तर तथा अध्ययन शुल्कलगायत पक्षको गम्भीर अध्ययन गरी निर्णय लिनुपर्ने बताए । व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले मणिमुकुन्द कलेजले केवल डिग्री प्रदान गर्ने मात्र नभई विद्यार्थीको करियर निर्माण, व्यावसायिक दक्षता विकास र प्रतिस्पर्धी क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर शिक्षण गर्दै आएको बताए ।