बुटवल । बुटवल उपमहानगरपालिका–७ मा रहेको बी.पी. कोइराला अध्ययन प्रतिष्ठान, रुपन्देहीले महामानव तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद -बीपी) कोइरालाको शालिकमा माल्यार्पण गर्दै ४५औँ बीपी स्मृति दिवस तथा प्रतिष्ठानको १९औँ स्थापना दिवस एक साथ मनाएको छ । आइतबार बीपी बाटिकामा आयोजित कार्यक्रममा बीपीको शालिकमा माल्यार्पण गरी उहाँले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता, लोकतन्त्र र मेलमिलापको नीति आजको राजनीतिक तथा सामाजिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूले चर्चा गरेका छन ।
कार्यक्रममा बोल्दै बी.पी. कोइराला अध्ययन प्रतिष्ठान, रुपन्देहीका अध्यक्ष युवराज गिरीले मुलुकमा राजनीतिक ध्रुवीकरण बढिरहेको वर्तमान अवस्थामा बीपीले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको विचार झन् आवश्यक भएको बताउनु भयो ।
उहाँले बीपीका विचारलाई व्यवहारमा उतार्दै समाजमा सहकार्य, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो । त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य दीर्घबहादुर केसीले बीपीका विचार, सिद्धान्त र राजनीतिक योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठानका गतिविधिलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो । बी.पी. कोइराला अध्ययन प्रतिष्ठानका
सचिव खिमानन्द भट्टराई को सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, कोषाध्यक्ष अर्जुन ढकाल, सदस्यहरू विमलराज भट्टराई, शशिधर घिमिरे लगायत प्रतिष्ठानका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका विश्वेश्वर प्रसाद -बीपी) कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा परिचित बीपीले प्रतिपादन गरेको राष्ट्रिय एकता, प्रजातन्त्र र मेलमिलापको विचार आज पनि नेपाली राजनीतिमा मार्गदर्शक सिद्धान्तका रूपमा स्मरण गरिन्छ ।